शिक्षामन्त्रीलाई प्रधानमन्त्रीको १७ चैत्र, २०७१ को पत्र

प्रधानमन्त्री
काठमाडौं, नेपाल

१७ चैत्र, २०७१

माननीय चित्रलेखा यादव,
मन्त्री, शिक्षा
शिक्षा मन्त्रालय, सिंहदरबार, काठमाडौं

स्वास्थ्य शिक्षाको क्षेत्रमा देखिएको समस्याको समाधान गरी समयानुकूल उपयुक्त स्वास्थ्य नीति तर्जूमाको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा विशेषज्ञहरू सम्मिलित एक उच्च स्तरीय समिति आफ्नो कार्यादेश अनुरुप क्रियाशील रहेको पृष्ठभूमि र मन्त्रिपरिषद्‌को मिति २०७१।१२।१७ को आकस्मिक बैठकबाट भएको निर्णयका आधारमा निम्नानुसार निर्देश गर्दछु -
१. सो समितिको प्रतिवेदन प्राप्त भइ नीति र कानून नबनेसम्म मेडिकल कलेजहरूलाई सम्बन्ध दिने र विस्तार सम्बन्धी कुनै कार्यवाही नगर्ने नगराउने । उक्त समितिलाई यथासम्भव शीघ्र आफ्नो प्रतिवेदन सरकार समक्ष प्रस्तुत गर्ने गराउने सम्बन्धमा आवश्यक सहयोग गर्ने तथा सो को आधारमा आवश्यक कानून बनाउने प्रक्रिया थाल्ने ।
२. त्रिभुवन विश्वविद्यालय सिनेटले गरेको चिकित्सालयशास्त्र अध्ययन संस्थान विभाजन गर्ने निर्णय विवादित बन्न गएको गुनासो आएको हुनाले सिनेटको उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन तत्काल प्रबन्ध मिलाउने ।
३. काठमाण्डौ विश्वविद्यालयबाट दिइएको विस्तारित कार्यक्रम सम्बन्धमा कानूनी प्रक्रिया पुर्‍याई स्थगन गर्नेतर्फ कारवाही चलाउने र तत्पश्चात त्यहाँ अध्ययनरत विद्यार्थी उपयुक्त व्यवस्थापन गर्ने ।
४. त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा. गोविन्द के.सी.ले अनसन मार्फत उठाउनु भएका विषयहरूको कार्यान्वयनको अनुगमन गर्ने प्रयोजनका लागि नेपाल सरकारका मुख्य सचिवको संयोजकत्वमा नेपाल चिकित्सक संघका अध्यक्ष र त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका प्रा. डा. वाई. पी. सिंह सदस्य रहने गरी आजैका मितिमा एक तीन सदस्यीय कार्यदलको समेत गठन गरिएकोले सो कार्यदललाई आवश्यक सहजीकरणको प्रबन्ध मिलाउने ।


शुशील कोइराला



Image: @NepalChirp